२७ भदौमा तोकिएको पालिका अधिवेशन सार्न रामचन्द्र पौडेलको प्रस्ताव

युग संवाददाता     447 पटक पढिएको    

२७ भदौमा तोकिएको पालिका अधिवेशन सार्न रामचन्द्र पौडेलको प्रस्ताव

 


हाम्राकुराबाट


काठमाडौं भदौ २४ । नेपाली कांग्रेस संस्थापन इतर समूहले ७७ वटै जिल्लामा वडा अधिवेशन सकेर मात्रै पालिका तहको अधिवेशन शुरु गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेको छ ।

बिहीबार विहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सभापति देउवासँग कांग्रेसको संस्थापन इतर पक्षले महाधिवेशन र सदस्यता विवादबारे छलफल गरेको थियो ।

छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेलले अझै २० जिल्लामा क्रियाशील सदस्यता टुंगिन बाँकी रहेको र सभापतिकै जिल्ला डडेलधुरामा पनि विवाद रहेकाले सबै जिल्लाको विवाद टुंगाएपछि ७७ वटै जिल्लामा वडा अधिवेशन सकेर मात्रै पालिका तहको अधिवेशन गर्न आग्रह गरेका हुन् ।

‘पहिले सबै जिल्लामा क्रियाशील विवाद टुंगाएर वडा अधिवेशन सकौं, त्यसपछि पालिका अधिवेशन देशभर एकै मितिमा गरौं, क्रियाशीलको विवादले १ असोजमा हुने प्रदेश सभाको निर्वाचन र त्यसपछिका निर्वाचनलाई असर नगरोस्,’ पौडेलले सभापति देउवालाई आग्रह गर्दै भनेको उनका सहयोगी चिरञ्जीवी अधिकारीले हाम्राकुरासँग भने ।

कांग्रेसको क्रियाशील सदस्यता विवाद अझै २० जिल्लामा मिलेको छैन । सभापति देउवाको जिल्ला डडेलधुरामा २५ भदौका लागि तोकिएको वडा अधिवेशन क्रियाशील सदस्यताको विवादकै कारण जिल्ला नेतृत्वले नै स्वीकारेको छैन ।

प्रदेश १ को मोरङ र प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटको क्रियाशील सदस्यतामा विवाद हुँदा सूची सार्वजनिक गरिएको छैन । यस्तै बागमती प्रदेशको काठमाडौ, सिन्धुपाल्चोक, काभ्रे र रसुवा तथा लुम्बिनीको कपिलवस्तु, बाँके र बर्दिया तथा कर्णालीको डोल्पा र सुर्खेतको पनि वडा अधिवेशन अनिश्चित छ । यसैगरी सुदूरपश्चिमका कैलाली र बाजुराको क्रियाशील सदस्यता सूची सार्वजनिक नहुँदा ती जिल्लामा पनि वडा अधिवेशन अनिश्चित बनेको छ ।

सदस्यता विवाद नटुंगिएको भन्दै बुधबार मात्रै कांग्रेस उपसभापति विमलेन्द्र निधिलेसमेत देशभर वडा अधिवेशन सकेर मात्रै अधिवेशनको बाँकी प्रक्रिया अघि बढाउन माग गर्दै सभापति देउवालाई लिखित पत्र नै पठाएका थिए । यसअघि कांग्रेसले १८ भदौका लागि वडा अधिवेशनको मिति तोकेको थियो । तर बुधबार सम्म ५६ जिल्लामा मात्रै वडा अधिवेशन सकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसले सार्वजनिक गरेको महाधिवेशनको कार्यतालिका अनुसार २७ भदौका लागि पालिका अधिवेशन, १ असोजका लागि प्रदेशसभा क्षेत्रीय अधिवेशन र ५ असोजमा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशनको तोकिएको छ ।

यस्तै १० असोजका लागि एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन तोकिएको छ भने प्रदेश अधिवेशन १० कात्तिक देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मंसिरसम्म तय गरिएको छ ।



बिहिबार २४, भदौ २०७८ ०२:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal