 
                                                            
बाजुरा साउन ३  लागातारको अविरल बर्षाका कारण बाजुराको त्रिवेणी नगरपालिका–८ कालापानी गाउँ पहिरोको उच्च जोखिममा रहेको छ।
नगरपालिकाका प्रत्येक वडामा सडक संजाल जोड्नका लागि बनाइएका सडक माथिबाट पहिरो बग्न थालेपछि उक्त वडाको भगवती टोलका १२ घर पहिरोको जोखिममा रहेको शिक्षक योगेन्द्र थापा बताउँछन्।
उनले दिएको जानकारी अनुसार उक्त नगरपालिका–८ कालापानीका भगवती टोलका १२ परिवार र बमबाडा र बाटेगडाका १२ परिवार गरी २४ परिवार पहिरोका जोखिममा रहेका छन्। गएको सोमबार राति आएको पहिरोका कारण ठाना सडकमा रहेको ठुलो ढुङ्गा समेत बगेर आउन थालेकाले सो बस्ती नै जोखिममा परेको थापाको भनाई छ।
लगातारको अविरल वर्षासंगै आएको ठाना सडकमा पहिरो जान थालेपछि स्थानीयहरु रातभर जागराम बस्ने र बालबालिकाहरुलाई आफन्तको राखेर रात काट्ने गरेको स्थानीयले बताएका छन्। त्रिवेणी नगरपालिकाले भने जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
प्रतिकृया दिनुहोस