पौडेल समूहको निष्कर्ष कांग्रेसकै नेतृत्वमा सरकार, देउवालाई अघि सार्ने

युग संवाददाता     814 पटक पढिएको    

पौडेल समूहको निष्कर्ष कांग्रेसकै नेतृत्वमा सरकार, देउवालाई अघि सार्ने


काठमाडौँ   फाल्गुण २८ ।  नेपाली कांग्रेस भित्रको संस्थापन इतर मानिएको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले नयाँ सरकार गठनका लागि पार्टीले नै नेतृत्व लिनु पर्ने निष्कर्ष निकालेको छ ।

महामन्त्री डा  शशांक कोइरालाको निवासमा बसेको सो समूहको बैठकले प्रधानमन्त्रीबाट केपी ओलीलाई बिदा गरेर आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने र सरकारको नेतृत्व सभापति देउवाले नै गर्ने गरी वातावरण बनाउने निष्कर्ष निकालेको हो ।


काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले अन्य दलहरूसँग समेत छलफल गरेर पार्टीले नेतृत्व लिने गरी अघि बढ्ने जानकारी दिए ।  ‘हाम्रो मात्रै सङ्ख्या पुग्दैन, अरू दलसँग पनि छलफल गरेर पार्टीले नै नेतृत्व लिने गरी सरकार गठनको प्रक्रियामा अघि बढ्छौँ, कुरा यही हो, सभापतिकै नेतृत्वमा सरकार गठनको पहल हुन्छ ।’ कांग्रेस वरिष्ठ नेता पौडेलले हाम्रा कुरासँग भने ।

काँग्रेसले सत्ता समीकरणको सम्भावनाबारे छलफल गर्न आजै पदाधिकारी बैठकसमेत बोलाएको छ । केही बेरमा सुरु हुने पदाधिकारी बैठकपछि कांग्रेसले जनता समाजवादी पार्टी ९जसपा० का नेताहरूसँग समेत छलफल गर्ने कार्यक्रम छ ।  साँझ चार बजे सभापति देउवाले आफ्नै निवास बुढानीलकण्ठमा जसपाका नेताहरूलाई छलफलका लागि बोलाइसकेका छन् ।

काँग्रेस भित्रको पौडेल पक्ष प्रतिनिधिसभा विघटन गरेका ओलीलाई नै कुनै हालतमा सघाउन नहुने पक्षमा छ । बरु अन्य विकल्पमा छलफल गरेर भए पनि सरकारबाट ओलीलाई विस्थापित गर्नु पर्ने पक्षमा पौडेल पक्ष उभिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसअघि नै देउवालाई सरकारको नेतृत्व लिने गरी नयाँ समीकरणमा जुट्न आग्रह गरिसकेका छन् ।



शुक्रबार २८, फागुन २०७७ ०४:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.