सेलाएन ओली -दाहाल विवाद, फेरी सर्‍यो बैठक

Yugnepal     773 पटक पढिएको    

सेलाएन ओली -दाहाल विवाद, फेरी सर्‍यो बैठक

काठमाडौँ ।आइतबारका लागि तोकिएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा को स्थायी कमिटीको बैठक फेरी सरेको छ ।  आन्तरिक विवादमा सहमति खोज्न शीर्ष नेताहरुको छलफल भइरहेकाले यसअघि पनि बैठक पटक पटक सर्दै आएको थियो ।

साउन ४ गतेका लागि तोकिएको बैठक पुन  साउन ६ गते बिहान ११ बजेसम्मका लागि सरेको छ । नेकपा केन्द्रीय कार्यालयले आइतबार विज्ञप्ति जारी गरी बैठक मङ्गलबार सरेको जानकारी दिएको हो ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल र अन्य नेताहरुबीच विभिन्न चरणमा छलफल चल्दै आएको छ । आन्तरिक विवाद मिलाउन शीर्ष नेताको छलफल चलिरहेकाले बैठक पटकपटक सर्दै आएको छ ।  दलको आन्तरिक विषयमा सचिवालय र शीर्षनेताहरु छलफलमा रहेकाले बैठक सरेको बताइएको छ ।

यही असार १० गतेदेखि चालु स्थायी कमिटीको बैठकमा सरकार हटाउन छिमेकी भारत र नेता भित्रभित्र लागेको भन्ने प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति र नेकपा ९एमाले० नामक पार्टी निर्वाचन आयोगमा दल दर्ताको निवेदन परेको विषयले प्रवेश पाएपछि अध्यक्षद्वय ओली र दाहालबीचको दूरी बढेको छ । 

असार १८ गते सरकारले सङ्घीय संसद्को बजेट अधिवेशन अन्त्य गराएको विषय पनि नेकपामा विवादित बनेको छ ।अध्यक्ष दाहालले पनि राष्ट्रपतिसँगको भेटमा परामर्शबिना कुनै अध्यादेश जारी नगर्न आग्रह गर्दै आएका छन्। 

यही असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले आफूले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा जारी गरेबापत सरकार हटाउन भारतीय पक्ष र देशभित्रैबाट पहल भएपनि नक्सा छापेबापत सरकार परिवर्तन हुने नेपालको राष्ट्रियता त्यति कमजोर नभएको अभिव्यक्ति दिएका थिए । 

स्थायी कमिटीमा नेपालको सीमा समस्या र समाधान, सरकारको समग्र समीक्षा, कोरोना रोकथाम र उपचार, पार्टी एकताका बाँकी काम, एमसीसीलगायत कार्यसूची छन् ।



आइतबार ०४, साउन २०७७ ०५:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.