गेटा मेडिकल कलेजको निर्माण कार्य अन्तिम चरणमा

Yugnepal     979 पटक पढिएको    

गेटा मेडिकल कलेजको निर्माण कार्य अन्तिम चरणमा

  धनगढी कैलालीमा निर्माणाधिन गेटा मेडिकल कलेजको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । लकडाउनका बेला पनि स्वास्थ्यमा सावधानी अपनाएर कामलाई निरन्तरता दिएपछि मेडिकल कलेजको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।
राष्ट्रिय गौरवको योजनाका रूपमा २०७३ साल वैशाखदेखि निर्माण शुरू भएको गेटा मेडिकल कलेज निर्माणमा ७० प्रतिशत भौतिक प्रगति भएको निर्माण समितिले जानकारी दिएको छ । आगामी आर्थिक वर्षभित्रै अस्पतालबाट सेवा शुरू गर्ने तयारीकासाथ निर्माण कार्यलाई तीब्रता दिइएको छ । 
 गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका अनुसार कलेजको सात वटा प्याकेजमा निर्माण थालिएकोमा ६ वटा प्याकेजमा ८० प्रतिशत भौतिक प्रगति भएको छ। एउटा प्याकेजमा झण्डै ५० प्रतिशत भन्दा बढी भौतिक प्रगति भएको मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर साउदले बताए ।  
उनले पढाइ हुने कलेज भवनको ९५ प्रतिशत निर्माणको काम सकिएको बताउँदै अस्पताल भवनको ७० प्रतिशत र प्रशासनिक भवनको ८५ प्रतिशत निर्माण सकिएको बताए । मेडिकल कलेजमा आवासगृहको निर्माणमा भने केही ढिलाइ भइरहेको छ। कार्यकारी निर्देशक साउदले अहिले २३ वटा भवनको निर्माण भइरहेको बताउँदै  सडक र तटबन्धको कार्य समेत जारी रहेको बताए ।
लकडाउनमा समेत मेडिकल कलेजको निर्माण कार्य जारी राखिएको बताउँदै उनले निर्माणाधिन सबै प्याकेजमा निर्माण व्यवसायीहरूले कामदारलाई भित्रै राख्ने व्यवस्था मिलाइएको बताए।कार्यकारी निर्देशक साउदले निर्माणका लागि आवश्यक पर्ने सिमेन्ट लगायतका सामान ढुवानीका लागि जिल्ला प्रशासनले अनुमति दिइसकेको बताउँदै काठमाडौं लगायतका क्षेत्रबाट ल्याउनुपर्ने निर्माण सामाग्रीको भने अभाव रहेको बताए ।
 अर्को आर्थिक वर्ष भित्रै अस्पताल सञ्चालनका लागि बजेट समेत माग गरिएको कार्यकारी निर्देशक साउदले बताए। मेडिकल कलेज सञ्चालनका लागि आधारतभूत पुर्वाधार तयार भइसकेपनि अस्पताल सञ्चालन र पठनपाठनका लागि सम्वन्धित् निकायले प्रक्रिया अगाडी बढाउन सकेको छन ।
 शुरूवातमा २०७७ सालदेखि नै अस्पताल र पठनपाठन शुरू गर्ने लक्ष्य राखिएपनि आवश्यक प्रक्रिया अगाडी नबढ्दा आउँदो वर्ष भित्र सञ्चालन गर्ने तयारी भइरहेको छ ।



शनिबार २७, बैशाख २०७७ ०८:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.