काठमाडौं । काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्दै आएका तीन जनामध्ये दुई जनालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार तीन जनाको स्वाब परीक्षण गरिएकामा दुई जनालाई कोरोना पोजिटिभ देखिएको हो । एक जनाको रिपोर्ट भने साँझसम्म आउने बताइएको छ ।
एकै परिवारका तीनमध्ये आमा र छोरालाई पोजेटिभ देखिँदा बुहारीलाई भने पुनः परीक्षण गरिने जनाइएको छ ।
यसअघि सोमबार उनीहरुको र्यापिड टेष्ट गर्दा तीनै जनामा पोजेटिभ देखिएको थियो ।
बेलायतबाट फर्केर काठमाडौंको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बसेका उनीहरुको र्यापिड टेस्ट पोजेटिभ देखिएपछि सोमबार साँझ पाटन अस्पतालको आइसोलेसनमा लगिएको थियो ।
एकै परिवारका ८१ वर्षीया वृद्धा आमा, ५८ वर्षका छोरा र ५६ वर्षकी बुहारी भएको बताइएको छ । उनीहरु चैत ५ गते आए पनि घरमै बसिरहेका थिए । पछिल्ला दिनहरुमा उनीहरु बाहिर देखिएका थिए । छिमेकीले भनेपछि उनीहरु परीक्षणका लागि आफै गएका थिए ।
सोमबार साँझदेखि सनसिटीमा सीलबन्दी गरिएको छ ।
दुई जनामा कोरोना पोजेटिभ देखिएपछि मंगलबार दिउँसो प्रहरीले माइकिङ गर्दै कोटेश्वरदेखिकै क्षेत्रलाई सील गर्न सक्नेबारे छलफल भइरहेको बुझिएको छ ।
अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।
प्रतिकृया दिनुहोस