प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रका नाममा सम्बोधन, आउने दुई साता थप कष्टकर

राष्ट्रका नाममा सम्बोधन,

Yugnepal     741 पटक पढिएको    

प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रका नाममा सम्बोधन, आउने दुई साता थप कष्टकर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको जोखिम रोक्न सरकारले लिएको कदम, जारी लकडाउनमा नागरिकको साथ, स्वास्थ्य सेवा, परीक्षण र उपचारबारे सम्बोधन गरिरहेका हुन् ।

उनले सिङ्गो विश्वको मानव जगत्मा ७४ हजारभन्दा बढीको कोरोना सङ्क्रमणका कारण मृत्यु भइसकेकामा निधन भएका सबै नेपाली र विश्वका नागरिकप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै उपचारतहरुको स्वास्थ्यलाभको कामना गरेका छन् ।

ओलीले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र उपचारमा युद्धस्तरमा काम भइरहेको जनाएका छन् ।

प्रधानमन्त्री ओली सरकार, राजनीतिक दल र सबैको संयुक्त कमाण्डका रुपमा सङ्घीय सरकारले सञ्चालन गरेको कोरोना रोकथाम र नियन्त्रण व्यवस्थापन केन्द्र ९सिसिएमसी० ले युद्धस्तर र समन्वयात्मकरुपमा काम गरिरहेको उल्लेख गरेका हुन् ।

उनले चर्को गर्मीको पर्वाह नगरी स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु निरन्तर खटिरहेकामा उच्च प्रशंसा गर्दै यसमा सबैको सचेततापूर्वक साथ र सहयोगको अपेक्षा व्यक्त गरे ।

उनले नेपालमा साझा प्रयत्नले सङ्क्रमितको सङ्ख्या नौ जना मात्र भए पनि जोखिम कायमै रहेको उल्लेख गर्दै लकडाउनका कारण प्रभावित मजदुर, विद्यार्थी र व्यावसायीलाई सहानुभूति व्यक्त गरेका छन् ।

उनले आउने दुई साता थप कष्टकर हुने भन्दै जहाँ छौं त्यहीं रहौं भनेका छन् ।

ओलीले उपचारमा रहेका स्वास्थ्यकर्मीलाई ड्युटीमा रहेका बेलासरह सम्वोधन गर्ने बताए । उपचारको पहिलो तहमा बस्नेलाई सत्प्रतिशत, दोस्रो तहमा बस्नेलाई ७५ प्रतिशत र तेस्रो तहमा बस्नेलाई ५० प्रतिशत भत्ता उपलब्ध गराउने उनले बताए ।

कोरोनाबाट लड्न विश्वकै विकसित राष्ट्रहरुले तयारी राम्रोसंग गर्न सकेका रहेनछन् भन्ने स्पष्ट भएको भन्दै हाम्रोजस्तो देशमा हम्मेहम्मे पर्नुलाई सामान्य रुपमा लिनुपर्ने बताए ।

उनले नागरिकको जीवनरक्षा भन्दा ठूलो कुरो अरु नभएको पनि प्रधानमन्त्री ओलीले सम्वोधनका क्रममा बताए ।

मिडिया र सामाजिक संजालमा आउने प्रतिक्रियाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले एक जुट हुने बेलामा सरकारका विरुद्ध आएका कुप्रचारले कसैलाई फाइदा नपुग्ने उनले बताए ।

उनले वर्तमान सरकार भ्रष्टाचारीलाई दूरुत्साहित गर्न लागेको पनि दोहोर्याएका छन् ।

ओलीले संचारमाध्यमलाई अझ जिम्मेवार बन्न पनि आग्रह गरेका छन् । उनले सामाजिक दूरी नै कोरोना भाइरस नियन्त्रणको सबैभन्दा उत्तम विकल्प भएको भन्दै त्यही नीतिलाई अवलम्बन गर्न आग्रह गरेका छन् ।

महामारी फैलिन नदिन थप एक साता लकडाउन थपिएको प्रधानमन्त्री ओलीले बताएका छन् । उनले चिकित्सकको आँट र भरोसाबाटै कोरोना जित्न सकिने विश्वास पनि व्यक्त गरेका छन् ।

ओलीले महामारीविरुद्धको लडाइ जित्न भीडमा नजानु नै उत्तम विकल्प भएको बताएका छन् ।

उनले विदेशबाट फर्केका सबैलाई क्वारेन्टाइनमा बस्न पनि आग्रह गरेका छन् ।

यसअघि प्रधानमन्त्री ओलीले सो विषयमा यही चैत ७ गते राष्ट्रका नाममा सम्बोधन गरेका थिए ।



मङ्गलबार २५, चैत २०७६ ०१:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.