काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का स्थायी कमिटि सदस्य एवं सांसद अग्नि सापकोटाको भविष्यको एउटा हिस्सा आइतबारको दिनले तय गर्दैछ । उनी प्रतिनिधिसभाको सभामुख चयनका लागि एकमात्र निर्विरोध उम्मेदवार हुन् ।
प्रतिनिधिसभाको बैठक ३ बजे बोलाइएको छ । एक जनाको मात्र उम्मेदवारी परेको भए पनि आइतबार औपचारिक रुपले निर्वाचन प्रक्रिया पूरा गर्नुपर्नेछ ।
उनी निर्विरोध सभामुख भए पनि त्यसअघि उनीमाथि रिट परेको छ । त्यो रिटको पनि आइतबारै सुनुवाई हुँदैछ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सभामुखमा सापकोटालाई रोक्न माग गर्दै रिट दायर गरेका थिए ।
रिटको सुनुवाइ पनि केही बेरमा हुँदैछ । त्रिपाठीले साढे १० बजे सर्वोच्चले बोलाएको बताएका छन् ।
त्यसैगरी सापकोटाको टिम पनि सर्वोच्चमा पुगेको बताइएको छ ।
काभ्रेका अर्जुन लामाको हत्या प्रकरणमा जोडिएको भन्दै उनलाई सभामुखमा रोक्नुपर्ने माग गरिएको छ ।
उनलाई सभामुख बनाउन लागिएको भन्दै यसअघि राष्ट्रपतिका विज्ञ सल्लाहकार सुशील प्याकुरेलले पनि राजीनामा दिइसकेका छन् ।
प्याकुरेलले आफू मानवअधिकारका लागि जस्तोसुकै त्याग गर्न पनि तयार रहेको भनिसकेका छन् । प्याकुरेलले यसअघि नै सर्वोच्चमा सापकोटा विरुद्ध उजुरी दिएका थिए ।
रोकिन सक्छ सभामुख चयन प्रक्रिया
सर्वोच्चले निवेदकको मागदाबी अनुसार आदेश दिएमा सभामुख चयन प्रक्रिया रोकिन सक्नेछ ।
यदि सर्वोच्चले सापकोटाको पक्षमा आदेश दिएमा सभामुख चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढ्ने छ ।
सापकोटाको पक्षमा आए आइतबारको संसद बैठकमा सापकोटाका प्रस्तावक सुवास नेम्वाङले आफ्नो प्रस्ताव पेस गर्नेछन् ।
समर्थकमा रहेका पूर्वसभामुख ओनसरी घर्ती, नेकपा प्रमुख सचेतक देव गुरुङ र राजपाका तर्फबाट लक्ष्मणलाल कर्णले समर्थन गर्नेछन् ।
सभामुखका लागि नेकपाबाहेक अन्य कुनै पनि दलले उमेदवारी नदिएका कारण उनी निर्विरोध निर्वाचित हुनेछन् ।
प्रतिकृया दिनुहोस