लाखौं मानिसलाई आँखाको ज्योति प्रदान गर्ने डा. रुइतको जीवनी आउँदै

Yugnepal     1722 पटक पढिएको    

लाखौं मानिसलाई आँखाको ज्योति प्रदान गर्ने डा. रुइतको जीवनी आउँदै

काठमाडौं । विश्व विख्यात आँखा सर्जन डा सन्दुक रुइतको जीवनी “सन्दुक रुइत” असोज ११ गते सार्वजनिक हुने भएको छ । अस्ट्रेलियन पत्रकार अलि ग्रिपरले लेखेको उक्त किताब लेखक खगेन्द्र संग्रोलाले नेपालीमा अनुवाद गरेका हुन् ।

म्यागसेसे, पद्यभुषण जस्ता प्रतिष्ठित पुरस्कार पाएका डा। रुइतले भने, “अंग्रेजीमा लेखिएको मेरो जीवनीको नेपाली अनुवाद आउँदै गर्दा म एकदम हर्षित भएको छ । मेरो जीवनीले कसैलाई परोपकार वा सद्कर्मको बाटोमा लाग्न प्रेरित ग¥यो भने मेरो जीवनी सार्थक भयो भन्ने म ठान्दछु ।”  

पुस्तक अनुवादक खगेन्द्र संग्रोला भन्छन्, “सन्दुक रूइतको जीवन जिज्ञासा र अन्वेषण, संघर्ष र संकल्प,साहस र सेवाभाव, करूणा र परोपकार तथा त्याग र समर्पणले ओतप्रोत एवं सादा जीवन, उच्च विचारको आदर्शले शोभित शानदार जीवन हो । रूइतको नागबेली जीवनयात्रा बहुआयामिक विशिष्टतायुक्त, प्रेरणादायी एवं अनुकरणीय छ । यस्ता उत्कृष्ट मानिसको भव्य जीवन कथा अनुवाद गर्दाका क्षणहरू मेरो जीवनका सुखद र सार्थक क्षणहरू हुन् ।”

प्रकाशक फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले भने, “विनशीलता र परोकारको प्रतिक डा। रुइतको जीवनी प्रकाशन गर्न पाउनु हाम्रो लागि ठूलो सौभाग्य हो । यो हामीले उनलाई गर्न सक्ने सम्मान पनि हो । मलाई लाग्छ, जोन उडको “माइक्रोसफ्टदेखि बाहुँनडाँडासम्म”ले जस्तै यस पुस्तकले पनि वैभव र विलासको जीवन त्यागेर संसारलाई असल बनाउने उदात्त कर्ममा लाग्न हामीलाई प्रेरित गर्छ ।”

उक्त पुस्तक अस्ट्रेलियन प्रकाशन गृह एलेन एण्ड अनविनले पहिलोपटक अंग्रेजीमा प्रकाशित गरेको हो । उक्त प्रकाशन गृहसँग अनुवाद अधिकार लिएर फाइनप्रिन्टले नेपालीमा छापेको हो । डा रुइतको जीवनी लाखौं मानिसलाई आँखाको ज्योति प्रदान गर्नेएक नेत्र चिकित्सकको प्रेरणादायी कथा हो ।

संसारका चिकित्सकीय संस्थापनपक्षसँग निरन्तर जुध्दै सबैभन्दा गरिब र असहाय मानिसलाई नेत्रज्योति उपहार दिएर तिनको जीवनलाई अँध्यारोबाट उज्यालोतिर मोडिदिने अद्भुत डा सन्दुक रूइतको जीवन्त एवम्  रोचक कथा हो यो पुस्तक । यसमा विभेदकारी जातप्रथाको सबैभन्दा तल्लो तहमा दुर्गम हिमाली गाउँमा जन्मिएर कठिन प्रयत्न एवम् अथक सङ्घर्षका अनेक घुम्ती पार गर्दै संसारकै सबैभन्दा आदरणीयमध्ये एक बनेका नेत्रविशेषज्ञको जीवनवृत्तको रोमाञ्चक गाथा सम्मोहनयुक्त रुपमा लेखिएको छ ।



शुक्रबार १०, असोज २०७६ ०१:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal