राक्षस स्वरुपको घण्टाकर्णलाई दहन गरिँदै

Yugnepal     1007 पटक पढिएको    

राक्षस स्वरुपको घण्टाकर्णलाई दहन गरिँदै

 

काठमाडौं । मंगलबार नेवास समूदायले गथाःमुग भन्दै गठेमंगल पर्व मनाउँदैछन् । साउन महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिका दिन बिशेषगरी काठमाडौं उपत्यकाका नेवार समुदायले यो पर्व मनाउँछन् । 

तिथी अनुसार मंगलबार बिहान त्रयोदशी परे पनि दिउँसो १२ बजेर ३८ मिनेटदेखि चर्तुदशी तिथी सुरु हुने भएकाले मंगलबारै यो पर्व मनाइने नेपाल पंचांग निर्णायक समितिले जनाएको छ । 

चर्तुदशी तिथी बुधबार बिहान १० बजेर ५४ नै  सकिने भएकाले  पनि यो पर्वका बिधिहरु बुधबार मनाउन नहुने हो । चर्तुदशी तिथीमा पर्ने जन्मदिन लगायतका कर्म भने बुधबार नै गर्नुपर्ने ज्योतिषहरुले जनाएका छन् । 

नेवार समुदायका बिभिन्न चाडमध्ये यस पर्वलाई पहिलो र छोराको चाडका रुपमा मनाउने गर्छन् । यो पर्वमा गर्नुपर्ने अधिकांश बिधि पुरुषहरुले गर्ने भएकाले पनि छोराको चाड भन्ने गरिएको हो । 

 भुतप्रेत पन्छाउनका लागि नर्कटलाई छवाली, सिस्नो, नांगलो, कर्कलो लगायतका सामग्रीले सजाएर दोबाटो वा चौबाटोमा लगेर राख्ने गरिन्छ । 


घरभित्र र बाहिरका फोहोरलाई सरसफाई गरी यसलाई व्यवस्थित रुपमा बिसर्जन गरी भुत प्रेत पन्छाउने नाम दिएपनि यो पर्व सरसफाईको प्रतिकका रुपमा मनाउने बिशिष्ट पर्व भएको संस्कृतिविद्हरुको भनाई छ ।

रोपाई अबधिभर सरसफाईलाई ध्यानदिन नपाउने र यसबेला बिभिन्न किरा फटयांग्राले दुःख दिने भएकाले यसलाई पन्छाउन भुतप्रेतको संज्ञा दिई फोहोर सरसफाई गरी यो पर्व मनाइने गरेको हो । 

दिनभर ठडयाइएको नर्कटको गठेमंगललाई घाम अस्ताएपछि दोबाटो चौबाटोमा लगेर बिसर्जन गर्ने परम्परा छ । केही स्थानमा भने बिभिन्न स्थानमा जम्मा भएको गठेमंगललाई एकत्रित गरेर जलाउने चलन छ । 

गठेमङ्गल’ पर्वका दिन एक जना व्यक्तिलाई घण्टाकर्ण नाम गरेको राक्षसको सन्तानको प्रतीकका रुपमा नियुक्त गरी उसको काजक्रिया गर्ने भन्दै पैसा माग्न लगाइन्छ । त्यस दिन राति राँको बालेर भूत भगाउने चलन छ । 

बेलुकी घण्टाकर्णको पुत्ला घिसार्दै नजिकैको खोलामा लगेर जलाउने गरिन्छ । घण्टाकर्णलाई सेलाएपछि घरका दैलामा फलामको तीनखुट्टे वा पाँचखुट्टे किला ठोकी फलाम, पित्तल वा तामाका औंठी लगाउने चलन छ । 

भक्तपुरमा मल्लकालीन नगरका दोबाटो र चौबाटोमा हाँडीमा दही च्यूरा, सम्यबजी राखेर भूतप्रेत मन्छाउने चलन पनि छ । कतै कतै मान्छेलाई पनि घण्टाकर्णको प्रतीकका रुपमा विभिन्न रंगले रंगाएर पनि राख्ने चलन छ ।  

वैशाख महिनामा पर्ने अक्षय तृतियाका दिन मानिसले गर्न नसक्ने काम वा रोपाइँको कामका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले भूत, प्रेत, पिशाच आदिलाई तन्त्र आदी विधिले आह्वान गरिन्छ र ’गठेमङ्गल’ पर्वका दिन तिनै भूत, प्रेत र पिशाचलाई तन्त्रोक्त विधिले विदा गर्ने गरिन्छ । 

यस दिन भूतप्रेतको पूजा गरी दोबाटोमा समुदायका सबैले पूजा गर्न सक्ने गरी पूजास्थल बनाएर राख्ने गरिन्छ । मान्छे मार्ने घण्टासुर राक्षसलाई मारेको सम्झनामा राक्षसको प्रतिमा बनाई जलाउने र सेलाउन चलन छ ।
 
मान्छे मार्ने घण्टासुर राक्षसलाई मारेको सम्झनामा राक्षसको प्रतिमा बनाई जलाउने र सेलाउन चलन छ । पौराणिक कथन अनुसार दुवै कानमा घण्ट झुण्ड्याई आहाराको खोजीमा निस्कने घण्टासुर राक्षसलाई मार्न एक जना तान्त्रिकले भ्यागुताको रुप लिएर धाप भएतिर बाटो देखाईदिंदा राक्षस धापमा गाडिएको र सबैजना जम्मा भई त्यसलाई मारेको सम्झना स्वरुप घण्टाकर्णको प्रतीकका रुपमा नर्कटको प्रतिमा बनाईन्छ ।

घण्टाकर्ण पर्वका दिन घरको मुल ढोकामा भुतप्रेत र अन्य भयबाट जोगिन फलामको तीनखुट्टे किला गाड्ने चलन छ । साथै फलामको औठी पनि आजकै दिन लगाउने चलन छ । 

नयाँ शहरी बस्तिमा हराउँदै

शहरी बस्तिमा भने आबश्यक पर्ने सामग्रीको अभावमा पर्व मनाउने क्रम हराउदैछ। यो पर्व मनाउनका लागि नर्कट, छ्वाली, सिस्नो,काडे सिस्नो,लगायतका बिभिन्न सामग्रीको आबश्यक पर्दछ तर ती सामग्री अहिले शहरी क्षेत्रमा बिस्तारै हराउदै गएकाले मनाउनेको संख्या पनि हट्दैछ । 

पुराना नेवार बस्ति बाहेक नयाँ बनेका शहरी क्षेत्रमा रहेका नेवार समुदायले भने यो पर्व मनाउन छाडेका छन् । 



मङ्गलबार १४, साउन २०७६ १०:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal